छोरी भेट्न गएकी नेपाली महिलाको अस्ट्रेलियामा दर्दनाक मृत्यु


काठमाडौं- अस्ट्रेलियामा भएको एक दर्दनाक गाडी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। अस्ट्रेलियाको पर्थ शहरमा शुक्रबार मध्यराति अनियन्त्रित कार घरभित्रै पस्दा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरुङको ज्यान गएको हो।

अस्ट्रेलियाबाट प्रकाशन हुने अनलाइन एबिसी न्युजका अनुसार उक्त दुर्घटना शुक्रबार राति करिब ११:४० बजे भएको हो। अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार अचानक अनियन्त्रित भई एक घरमा ठोक्किएको थियो।

दुर्घटनाका बेला विष्णुकुमारी गुरुङ घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्। कार ठोक्किएर घरभित्रै पस्दा उनी गम्भीर घाइते भइन् र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

एबिसी न्युजका अनुसार विष्णुकुमारी केही दिनअघि मात्रै पर्थ पुगेकी थिइन्। उनी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन्। छोरीले सन्तान जन्माएपछि सहयोगका लागि उनी अस्ट्रेलिया गएकी थिइन्।

आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै मृतककी छोरी निशा गुरुङले आफूहरू गहिरो शोकमा रहेको बताइन्। उनले एबिसी न्युजसँग भनिन्, “आमा सुतिरहनुभएको थियो। यो सबै घटना नराम्रो सपनाजस्तो लागिरहेको छ।”

निशाकी एक छिमेकीका अनुसार दुर्घटनाको बेला घरमा विमान खसेजस्तै ठूलो आवाज आएको थियो। “छतमा विमान नै खसेजस्तो लाग्यो। उठेर हेर्दा घरमा कार ठोक्किएको देख्यौं,” उनले भनिन्। उनका अनुसार केही मिनेटमै प्रहरी, एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेका थिए।

दुर्घटनामा संलग्न कार चालक ३६ वर्षीय राइस हकिन्सलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। उनलाई शारीरिक रूपमा कुनै चोट नलागेको एबिसी न्युजले जनाएको छ।

आइतबार अदालतमा उपस्थित गराइएका हकिन्सलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ। उक्त घटनासम्बन्धी अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।

प्रतिक्रिया