
‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको छ : दाहाल
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विचार, सिद्धान्त र राजनीतिक दर्शनविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि गम्भीर प्रहार गरिरहेको चेतावनी दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले २६ वटा राजनीतिक दलको एकताबाट बनेको नेकपा नयाँ निर्वाचन चिह्न ‘तारा’सहित राष्ट्रिय संकटको सामना गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरे।
उनले सामाजिक सञ्जालमा देखिने ‘स्टन्ट’ र क्षणिक लोकप्रियतामाथि कडा टिप्पणी गर्दै विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासत नभए पनि केवल सामाजिक सञ्जालमा फन्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने प्रयास भइरहेको बताए।
दाहालले भने, “विचार, राजनीति, सिद्धान्त र इतिहास भए पनि नभए पनि सामाजिक सञ्जालमा स्टन्ट गरेकै आधारमा साम्राज्यवादले विभिन्न देशमा लोकप्रियतावादलाई उभ्याउने र त्यसैको आडमा लोकतन्त्रविरुद्ध समाजवादमाथि आक्रमण गर्ने गरेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना प्रवेश गरिसकेको छ। अहिले देखिएको राजनीतिक अवस्था लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेलजस्तै देखिन्छ।”
उनका अनुसार यो अवस्था अन्तर्राष्ट्रिय भूराजनीतिक हस्तक्षेप र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र हो।
दाहालले गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको राजनीतिक शक्ति भएको दाबी गरे।
जेन–जी आन्दोलन र त्यसबाट सिर्जित विशेष राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न मुलुकमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले सो आवश्यकता पूरा गर्न वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूलाई एकताबद्ध गरी २६ वटा साना–ठूला दल मिलाएर नेकपा गठन गरिएको बताए।



कागजपत्र |
