कांग्रेसले चुनावपूर्व गठबन्धन नगर्ने


काठमाडौं-  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आफ्नो पार्टीले चुनावपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिसभा निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेकाले अब कुनै चुनावी गठबन्धन नहुने बताएका हुन्।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्‍यो,’ उनले भने, ‘कुनै पनि पार्टीसँग चुनाव लक्षित भेटघाट भएको छैन। चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन। सबै क्षेत्रमा हाम्रो उम्मेदवार छन् र हामी दृढतापूर्वक प्रचारमा लागेका छौं। सभापतिले पनि यो कुरा सार्वजनिक रूपमा भनिरहनुभएको छ, त्यसैले अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’

चालिसेले अधिनायकवादी प्रवृत्तिहरू मीठो र चिप्लो भाषणमार्फत अघि आउने भएकाले ‘नयाँ’ भन्नेहरूको भ्रममा नपर्न मतदातालाई सचेत गराए। उनले केही दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको आरोप लगाउँदै यस विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताए।

उनले विपक्षी दल र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममा भइरहेका घृणास्पद र अमर्यादित अभिव्यक्तिले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको उल्लेख गर्दै कांग्रेस त्यसप्रति सजग रहेको बताए।

अर्को प्रसङ्गमा उनले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर बाहिरिनु नैतिकताको विषय नभएको टिप्पणी गरे। ‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिनु मानव अधिकारको विषय त हुन सक्छ, तर नैतिकताको विषय होइन,’ उनले भने, ‘नहुनुपर्ने थियो, भयो। तर नागरिक र राजनीतिक दलले स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य हो, र सरकार त्यसतर्फ लाग्नुपर्छ।’

प्रतिक्रिया