सरकार चुनाव सार्ने बहाना खोज्दैछ: एमाले उपाध्यक्ष बादल


काठमाडौं-  नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। मौसमलाई कारण देखाएर चुनाव टार्ने तयारी भइरहेको उनको दाबी छ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा दोस्रो चरणमा पनि निर्वाचन हुन सक्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गरे। उक्त अभिव्यक्तिले सरकारले मौसमलाई बहाना बनाएर निर्वाचन सार्न खोजिरहेको संकेत दिएको उनको भनाइ छ।

‘अहिलेको सरकारले निर्वाचन सार्ने बहाना खोज्दैछ,’ थापाले भने, ‘हिजो–अस्ति कतै अहिलेको प्रधानमन्त्री भनौं, सुशीला कार्कीले हिमपात धेरै भयो, मौसम खराब भयो भने हिमाली क्षेत्रमा चुनाव सर्न सक्छ भन्ने अभिव्यक्ति दिनुभयो। चुनाव दुई चरणमा हुन सक्छ, अहिले हिमाली क्षेत्रमा चुनाव गर्न सकिँदैन भनेर भनिँदैछ। यसले सरकार निर्वाचन सार्ने तयारीमा रहेको देखिन्छ।’

उपाध्यक्ष थापाले वर्तमान सरकार अवैध र असंवैधानिक रहेको आरोपसमेत लगाए। उनका अनुसार सरकार सुरुदेखि नै निर्वाचन नगर्ने मानसिकतामा रहेको र अहिले विभिन्न बहाना अघि सार्न थालेको छ।

‘हाम्रो पार्टीले पहिलादेखि नै भनिरहेको थियो कि यो सरकारले चुनाव गर्दैन,’ थापाले भने, ‘अहिले उनीहरू मौसमलाई बहाना बनाएर निर्वाचन सार्ने प्रयासमा छन्।’

उनले निर्धारित समयमा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनुपर्ने एमालेको स्पष्ट अडान रहेको दोहोर्‍याए।

प्रतिक्रिया