
गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानेर हत्या
काठमाडौं- लिबियाका भूतपूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानेर हत्या गरिएको बताइएको छ। लिबियन न्यूज एजेन्सीका अनुसार ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले मङ्गलबार गरेका हुन्। सैफलाई लामो समयदेखि गद्दाफीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो।
समाचारसंस्था एएफपीलाई सैफका वकिलले दिएको जानकारीअनुसार उनको गृहनगर जिन्तानस्थित निवासमा ‘चारजना कमान्डो’को युनिटले आक्रमण गरी हत्या गरेको हो। यद्यपि, घटनाको स्थान र परिस्थितिबारे फरक–फरक विवरणहरू सार्वजनिक भइरहेका छन्।
घटनाक्रमको अर्को संस्करणमा सैफकी बहिनीले आफ्ना दाइको मृत्यु अल्जेरियासँगको सीमानजिक भएको लिबियन टेलिभिजनलाई बताएकी छन्। हत्या कसले र किन गर्यो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रभावशाली र विवादास्पद पात्र
सैफ अल–इस्लामलाई उनका पिता मुअम्मर गद्दाफीपछि लिबियाको सबैभन्दा प्रभावशाली र डरलाग्दा राजनीतिक व्यक्तित्वका रूपमा हेरिन्थ्यो। गद्दाफीले सन् १९६९ देखि सन् २०११ सम्म लिबियामा शासन गरेका थिए। सन् २०११ मा भएको जनविद्रोहका क्रममा सत्ता गुमाएपछि उनी मारिएका थिए।
सन् १९७२ मा जन्मिएका सैफले सन् २००० देखि गद्दाफी शासन पतन नहुँदासम्म पश्चिमा देशहरूसँग लिबियाको सम्बन्ध सुधार्न र सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनलाई शासनको सुधारवादी अनुहारका रूपमा समेत प्रस्तुत गरिएको थियो।
तर सन् २०११ मा आफ्ना बुवालाई सत्ताच्युत गरिएपछि सैफ प्रतिद्वन्द्वी लडाकु समूहको नियन्त्रणमा परेका थिए। जिन्तानमा उनलाई करिब छ वर्षसम्म जेलमा राखिएको थियो।
सैफमाथि जनविद्रोहका क्रममा सरकारविरोधी प्रदर्शनकारीहरूमाथि दमन गर्न सक्रिय भूमिका खेलेको आरोप लाग्दै आएको थियो। सोही आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०११ मै उनीविरुद्ध मानवताविरुद्धको अपराध अभियोगमा मुद्दा चलाउन खोजेको थियो।
यसैबीच, लिबियाको पश्चिमी क्षेत्र त्रिपोलीस्थित अदालतले सन् २०१५ मा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो, जहाँ संयुक्त राष्ट्रसङ्घ समर्थित सरकारको शासन रहेको छ। तर देशको पूर्वी भाग तोब्रुकमा प्रभाव जमाएको एक लडाकु समूहले माफी दिने कानुनअन्तर्गत दुई वर्षपछि उनलाई रिहा गरिदिएको थियो।



कागजपत्र |
