मागभन्दा बढी ग्यास आपूर्ति, उपभोक्तालाई नआत्तिन निगमको आग्रह


काठमाडौं- पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन लागेको भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले स्पष्ट पारेको छ। निगमले तथ्यांक सार्वजनिक गर्दै हाल देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जनाएको हो।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांकसहित जानकारी दिँदै उपभोक्तालाई आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताए। उनका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट अर्थात् करिब १ लाख १४ हजार सिलिन्डर ग्यासको माग रहेको छ। तर पछिल्ला दिनमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागभन्दा बढी ग्यास लोडिङ भइरहेको उनले जानकारी दिए।

भट्टका अनुसार गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको थियो। त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ गरिएको छ।

लोडिङ भएका बुलेटमध्ये केही नेपाल भित्रिसकेको र केही बाटोमै रहेको जानकारी दिँदै कार्यकारी निर्देशक भट्टले आगामी निर्वाचन अवधिभरि पनि नियमित रूपमा ग्यास आपूर्ति निरन्तर रहने दाबी गरे।

निगमले ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले अभावको त्रासमा परेर घर–घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न उपभोक्तालाई विशेष आग्रह गरेको छ। अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब सिर्जना गर्ने भन्दै निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन अनुरोध गरेको छ।

प्रतिक्रिया