
‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्छौं : मन्त्री भण्डारी
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी गर्ने ‘फ्री भिसा टिकट’, अभिमुखीकरण, तालिम जस्ता कार्यविधि एक महिनाभित्र खारेज गरिने घोषणा गरेका छन्। उनले आफ्नो कार्यकालमा श्रमिकका नाममा रहेका सबै सिन्डिकेट हटाउने प्रतिबद्धता जनाएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री भण्डारीले विभिन्न कार्यविधिका नाममा श्रमिकलाई ‘ट्रयाप’मा पारेर दुःख दिने काम भइरहेको बताएका छन्। केही साताअघि उनले वैदेशिक रोजगार स्वास्थ्य परीक्षणमा तोकिएको अतिरिक्त शुल्क समेत खारेज गरेका थिए।
भण्डारीका अनुसार, अब मन्त्रालय श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम सञ्चालन गर्ने व्यवस्था ल्याउनेछ।
समीक्षामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले कार्य योजनाहरू विभाग र शाखाअन्तर्गत दोहोरो बजेट नराखी मर्ज गर्न सुझाव दिएका थिए। मन्त्रालयका सचिव डा. दीपक काफ्लेले भने, चालु आवमा १६ प्रतिशतभन्दा बढी बजेट खर्च नभएकोले विभागहरूले तीव्रता बढाउनुपर्ने बताए। साथै, श्रमिकसँग सम्बन्धित सामी परियोजनाको प्रभावकारिता पुनः समीक्षा गरिनेछ।



कागजपत्र |
