
मनाङमा एक सातापछि फेरि हिमपात, माथिल्लो क्षेत्र प्रभावित
मनाङ- मनाङमा एक सातापछि फेरि हिमपात भएको छ। अघिल्लो माघ १४ गते परेको हिमपातपछि मंगलबार बिहान एकछिन घाम लागेपनि दिउँसो मौसम बिग्रिएर माथिल्लो मनाङको ढिकुर पोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात शुरू भएको छ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार दिउँसो १–२ बजेदेखि बिस्तारै हिउँ परेको र ३ बजेदेखि बढी परेको थियो। उनले भने, “अस्तिको हिउँ पग्लिएर सकिएको थिएन, फेरि थपियो। अहिले हिउँले खेतीबाली र घाँसपातलाई फाइदा गर्छ।”
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार मनाङ गाउँ तथा माथिल्लो क्षेत्रमा दिउँसो ३ बजेदेखि हिमपात भइरहेको छ। त्यही समयमा १८ जना विदेशी पर्यटक थोराङ्लातर्फ गएका थिए। हिमपातका कारण पर्यटकलाई सुरक्षित यात्रा गर्न निर्देशन दिइएको छ।



कागजपत्र |
