न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै लाखौँ ठगी, दुई पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै न्युजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ निवासी तथा धादिङ थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ निवासी तथा सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन्।

प्रहरीका अनुसार अन्जन भुजेलले न्युजिल्याण्ड पठाइदिन्छु भनी ५ जना पीडितबाट १७ लाख १० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए। त्यस्तै, नविन दमाईले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेको पीडितहरूको उजुरीमा उल्लेख छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अन्जन भुजेललाई काठमाडौं महानगरपालिका–३१ बाट र नविन दमाईलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया