भारतमा दैनिक संक्रमित संख्यामा ‘रेकर्ड ब्रेक’, उत्तर प्रदेशका शैक्षिक संस्था बन्द


काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएसँगै हालसम्म संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ ।

हालसम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ४५६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढेसँगै उत्तर प्रदेश सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणदर बढेपछि सरकारले आइतबार अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ ।

यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ ।

बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ । आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ ।

 

 

प्रतिक्रिया