
टिचिङले बीमा सेवा रोक्दा वीर अस्पतालमा बिरामीको चाप बढ्यो
काठमाडौं- नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्याउने उद्देश्यले सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रम वित्तीय असन्तुलन र नीतिगत कमजोरीका कारण संकटतर्फ धकेलिएको देखिएको छ।
ठूला स्वास्थ्य संस्थाहरूले धमाधम सेवा रोक्दा बिरामीहरूले ठूलो असुविधा भोग्नुपरेको छ। बीमामार्फत दाबी भुक्तानी समयमै नपाएको भन्दै अस्पतालहरूले सेवा बन्द गर्न थालेपछि बीमाको दिगोपनमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले करिब ४० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी नपाएको भन्दै माघ १ देखि बीमामार्फतको सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। टिचिङ परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पनि बीमा सेवा बन्द गरेको छ।
यसअघि गंगालाल अस्पताल लगायतका स्वास्थ्य संस्थाले पनि बीमा सेवा रोक्ने चेतावनी दिइसकेका थिए। बीमाबोर्डसँग आवश्यक आर्थिक स्रोत नहुँदा सेवा प्रदायकलाई समयमै भुक्तानी दिन नसकिएको भन्दै कार्यकारी निर्देशक डा. रघुराम काफ्लेले राजीनामा दिएका छन्। उनका स्थानमा नयाँ कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले रोकिएका सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।
देशभरकै रेफरल अस्पताल मानिने टिचिङलगायत केही ठूला अस्पतालले बीमा सेवा रोक्दा वीर अस्पतालमा सेवाग्राहीको चाप बढेको छ। टिचिङबाट सेवा खोज्दै आएका बिरामीहरू विकल्प खोज्न वीर अस्पताल पुगेपछि ओपीडी, आकस्मिक, शल्यक्रिया कक्ष र विभिन्न विशेषज्ञ सेवामा दैनिक बिरामीको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ।
वीर अस्पतालका डा. अनिल बरालका अनुसार टिचिङ अस्पतालमा बीमा सेवा बन्द भएपछि ठूलो संख्यामा बिरामी वीर अस्पतालमा रिफर भएका छन्। यसले जनशक्ति र स्रोतसाधनमा थप चुनौती सिर्जना गरेको छ। दैनिक सयौं बिरामीको भीडभाड हुने वीरमा अन्य अस्पतालले सेवा बन्द गर्दा थप दबाब बढेको कर्मचारीहरूले बताएका छन्।



कागजपत्र |
