सागर ढकालले डडेल्धुरावासीसँग किन मागे माफी ?


डडेल्धुरा- अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि डडेल्धुराका युवाहरूले चर्को आलोचना गरेका छन्। युवालाई गाली गरेको आरोप लागेपछि उनी सामाजिक सञ्जालमा व्यापक ट्रोलको सिकार बनेका हुन्।

भिडिओमा ढकालले अघिल्लो पटक डडेल्धुरा जाँदा भोगेको अनुभव सुनाउँदै स्थानीय युवामाथि खर्च बढाएको र दुरुपयोग गरेको आरोप लगाएका छन्। उक्त अभिव्यक्तिपछि डडेल्धुराका धेरै युवाले सामाजिक सञ्जालमार्फत उनको कडा आलोचना गरेका छन्। केहीले आफूहरूले ढकाललाई घरमै लगेर निःशुल्क खाना खुवाएको भन्दै उल्टै उनीमाथि आक्रोश पोखेका छन्। जेनजी आन्दोलनका बेला ढकाललाई डडेल्धुराबाट लखेटिएको प्रसंगसमेत उनीहरूले स्मरण गराएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट स्वतन्त्र रूपमा चुनाव लडेका ढकालले त्यसबेला उल्लेख्य चर्चा र जनमत बटुलेका थिए। यसपटक देउवा निर्वाचन नलड्ने भएपछि आफू डडेल्धुराबाट उम्मेदवार नबनेको ढकालले बताउँदै आएका छन्। तर स्थानीय केही युवाले भने ढकाललाई स्थानीयले नै अस्वीकार गरेकाले उनी त्यहाँ नफर्किएको आरोप लगाएका छन्।

हाल बालेन शाहको कोटाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट गुल्मी–१ मा उम्मेदवार बनेका ढकालले रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रममा डडेल्धुराको उक्त प्रसंग सुनाएका थिए। त्यही भिडिओ अहिले विवादको केन्द्र बनेको छ।

विवाद चर्किएपछि ढकालले सामाजिक सञ्जालमार्फत डडेल्धुरावासीसँग सार्वजनिक रूपमा माफी मागेका छन्। डडेल्धुरा पुगेपछि उनले लेखेका छन्, – ‘डडेल्धुराका मान्सलाई धेरै–धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ। ठुला सपना धेख्दा साना–तिना गल्ती हुनाइछन्, माफ गरिदिया। तमरो माया कइलेइ नभुलुँलो। डडेल्धुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला।’

यसैबीच, ढकाल आज बिहान बालेन शाहसँगै डडेल्धुराको ‘फेमस बाजेको’ पसलमा खिर खाइरहेको तस्बिरसमेत सार्वजनिक भएको छ। रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन हाल देशव्यापी दौडाहामा छन्।

प्रतिक्रिया