चाबहिल यातायात कार्यालयमा छापा, यातायात प्रमुख र ट्राफिक प्रहरीको मोबाइल जफत


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थाका कर्मचारीहरूको संलग्नतामा लाइसेन्सको लिखित परीक्षामा अनियमितता भएको आशंकामा १७ कर्मचारीसहित विभिन्न व्यक्तिका मोबाइल फोन जफत गरेको छ ।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौँ तह) पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ थान मोबाइल फोन नियन्त्रणमा लिइएको हो ।

यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित तीन जना ट्राफिक प्रहरीका मोबाइल पनि जफत गरिएको छ ।

त्यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाका नौ थान मोबाइल फोन अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

अख्तियारका अनुसार लिखित परीक्षा दिएर फेल भएको मितिले तीन महिना नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अनुसन्धानका लागि जफत गरिएको छ ।

चाबहिलस्थित यातायात कार्यालयका प्रमुखसहित कर्मचारी, ट्राफिक प्रहरी तथा अन्य व्यक्तिहरूको मिलेमतोमा पाँच हजारदेखि दस हजार रुपैयाँसम्म रकम लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराउने गरिएको सूचनाका आधारमा अख्तियारले छापा मारेर मोबाइल तथा कागजात जफत गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया