विदेश पठाइदिने भन्दै रकम असुल्ने चारजना पक्राउ


काठमाडौं-  प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सञ्चालन गरेको अनुसन्धानका क्रममा पीडितहरूबाट रकम उठाई विदेश नपठाएको खुलेपछि चार जनालाई नियन्त्रणमा लिइएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुंगा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ का २७ वर्षीय सरल आचार्य रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि आकर्षक तलब, सहज प्रक्रिया र छिटो पठाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट रकम असुल गरेका थिए । तर, लामो समयसम्म विदेश नपठाएपछि पीडितहरूले उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया