कागेश्वरीकाे पानी उद्योगमा हानिकारक ‘एमोनिया’ भेटियाे


काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ।

विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा श्रीकृष्ण बेभरेज उद्योगको जारको पानीमा एमोनिया पोजिटिभ पाइएको जानकारी दिएको छ।

मोबाइल प्रयोगशालामा गरिएको किट परीक्षण अनुसार, उद्योगले उत्पादित पानी मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको देखिएको छ। अनुगमनका क्रममा उद्योगका कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको, पन्जा नलगाई जार भर्ने गरेको अवस्था पनि भेटिएको विभागले जनाएको छ।

पानीको प्रारम्भिक परीक्षणमा जोखिम देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप प्रयोगशालामा परीक्षणका लागि नमुना संकलन गरेको छ।

विभागले उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ का सबै प्रावधान पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया