
आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति
काठमाडौं– धादिङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको उनको सचिवालयले स्पष्ट पारेको छ।
आशिकाको सचिवालय सदस्य दिनेश रुपाखेतीले आशिकाले उम्मेदवारी फिर्ता लिएको भन्ने प्रचार निराधार भएको बताएका छन्। उनका अनुसार आशिका हाल धादिङमै रहेर सक्रिय रूपमा चुनावी प्रचारप्रसारमा खटिएकी छन्।
उनका अनुसार आशिकाले उम्मेदवारी फिर्ता गर्नेबारे कहीँ पनि नबताएको र कसैले पनि उनलाई फिर्ता लिन आग्रह नगरेको स्पष्ट छ।
उनले जर्मनीबाट स्थायी बसोबास (पीआर) लिएको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौतीसमेत दिएका छन्।
यसैबीच, आशिका तामाङ आफैं गल्छीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर घटनाबारे स्पष्टीकरण दिएकी छन्। उनले आफ्नो भाइले झुक्किएर उम्मेदवारी फिर्तासम्बन्धी इमेल पठाइदिएको दाबी गर्दै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन्।



कागजपत्र |
