४९ उम्मेदवारले लिए नाम फिर्ता


काठमाडौं-  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गराएकोमा तोकिएको अवधिभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।

उनका अनुसार १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी कुल ३ हजार ४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारमध्ये ३९६ जना महिला, ३ हजार ९० जना पुरुष र १ जना अन्य समूहका उम्मेदवार रहेका छन्।

प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जानकारी दिए। साथै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध संकलन, मतपत्र छपाइ तथा मतदाता नामावली छपाइको काम पनि तीव्र रूपमा अघि बढिरहेको बताए।

उनले भने, “माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत माघ १ देखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन दर्ता, उम्मेदवार उपर दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्ता गर्ने सबै प्रक्रिया सम्पन्न भएका छन्।”

निर्वाचन आयोगका अनुसार अब प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया