निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा निगरानी बढाइने


काठमाडौं-  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिहरुलाई निर्देशन दिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन प्रचारप्रसार र अभियानलाई व्यवस्थित गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ।

बैठकले सामाजिक सञ्जालमा हुने दुरुपयोग र गलत सूचना फैलाउने गतिविधिको निगरानी प्रभावकारी बनाउन र गैरकानुनी काम भेटिए कारबाही गर्ने योजना पनि अघि बढाउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा चारवटा मुख्य सुरक्षा निकायले निर्वाचन सुरक्षा योजना सम्बन्धमा गरेका तयारीको समीक्षा गरिएको थियो। यसैअनुरूप, केन्द्रीय सुरक्षा समितिबाट पारित “एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२” हाल कार्यान्वयनमा रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया