
काठमाडौं छाडेर सर्लाही पुगेका गगनलाई कस्ताे छ चुनौती ?
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ अहिले राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ। प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएसँगै यस क्षेत्रको चुनावमा विशेष चासो बढेको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यस पटक सर्लाही-४ बाट उम्मेदवार बनेका छन्। पार्टीभित्र लामो समयदेखि प्रभाव जमाउँदै आएका थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व सम्हालेका छन्। यही कारण उनका उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
थापाले २०७० सालदेखि काठमाडौं-४ बाट लगातार चुनाव जित्दै आएका थिए। यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही-४ रोज्नुले राजनीतिक वृत्तमा चर्चा बढाएको छ। २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन राजनीतिक प्रतिष्ठाको विषय बनेको छ।
विशेष महाधिवेशनको वैधानिकताप्रति निर्वाचन आयोगले स्वीकृति दिएको थियो। देउवा पक्षले सर्वोच्च अदालतमा निवेदन दायर गरेको भए पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापाको नेतृत्व सुरक्षित बनेको छ। मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले देउवा समूहको माग दाबी खारेज गरेपछि थापा थप बलियो देखिएका छन्।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यस निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै छ। यसै निर्वाचनमा कांग्रेसका पूर्वनेता डा. अमरेश कुमार सिंह, एमालेबाट अमनिश कुमार यादव र नेकपाबाट राजनीश राय यादव उम्मेदवार छन्। सर्लाही–४ मा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
२०७९ सालको निर्वाचनमा डा. सिंह स्वतन्त्र उम्मेदवारका रूपमा २० हजार १७ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन्। कांग्रेसले डा. सिंहलाई टिकट नदिएपछि उनी स्वतन्त्र बनेका थिए।
सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिकाका वडा १, २, ३, ४, १३, १४, १५, बसबरिया गाउँपालिकाका वडा १, २, ३, धनकौल, रामनगर गाउँपालिका, बलरा, गोडैता नगरपालिका र विष्णु गाउँपालिकाका वडा १, २, ३, ४ पर्दछन्।
प्रभावशाली उम्मेदवार, विगतको प्रतिस्पर्धी नतिजा र राष्ट्रिय राजनीतिक अर्थ जोडिएकाले सर्लाही–४ को चुनाव यस पटक गम्भीर, रोचक र निर्णायक बन्ने देखिएको छ।



कागजपत्र |
