
सर्वोच्चमा सुनुवाइ सकियो: देउवा पक्षको रिटमा आजै आदेशको तयारी
काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सम्पन्न भएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध देउवा पक्ष अदालत पुगेको हो । आयोगको निर्णय बदरको मागसहित दायर रिटमा मंगलबार बहस सकिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइमा निवेदक देउवा पक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ता रमेश बडाल र कामना खाती लगायतले बहस गरेका थिए ।
देउवा पक्षले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ ठहर गर्दै त्यसबाट बनेको कार्यसमिति खारेज गर्न माग गरेको छ । साथै माघ ६ गते भएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया रोक्न पनि रिटमा माग गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अझै समय बाँकी रहेकाले हालको मनोनयन प्रक्रियालाई यथास्थितिमा राख्दा पार्टी संगठनलाई तत्काल असर नपर्ने जिकिर देउवा पक्षको छ । बहस सकिएकाले सर्वोच्च अदालतले यस सम्बन्धमा आजै आदेश जारी गर्ने तयारी गरेको बताइएको छ ।



कागजपत्र |
