
कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन : प्रचण्ड
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको फुटले आगामी निर्वाचनमा कुनै असर नपर्ने बताएका छन्।
शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि चुनावको असरबारे प्रश्न उठेको बताए। उनले भने, “निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैका लागि राम्रो होइन, तर यसको कारण चुनावमा कुनै असर पर्ने छैन।”
प्रचण्डका अनुसार सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायसँग छलफल गर्दा पनि कांग्रेस विभाजनका कारण निर्वाचन प्रभावित नहुने जवाफ प्राप्त भएको छ। उनले सबै दलहरू वर्तमानमा निर्वाचनतर्फ नै केन्द्रित भएकाले जनता ढुक्क रहन सक्ने पनि बताए।
साथै प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फको टिकट वितरण प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्। उनले अहिलेको अवस्थामा निर्वाचन बाहेक अन्य विकल्प नहुने र विकल्प खोज्दा दुर्घटनात्मक परिस्थितिहरू सिर्जना हुन सक्ने धारणा व्यक्त गरे।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पुरानो जीर्ण भवनबाट सेवा दिने असुविधा रहेको बताउँदै नयाँ भवन निर्माण गरिएको जानकारी दिइन्। पाँच तले भवनको लागत ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ।



कागजपत्र |
