गगन–विश्वलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा


काठमाडौं-  नेपाली कांग्रेसभित्रको विवाद झनै चर्किँदै गएको छ। पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरिएको व्यहोराको पत्र कांग्रेस संस्थापन पक्षले निर्वाचन आयोगमा पेस गरेको छ।

संस्थापन पक्षले अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै तीनै जना नेतालाई पार्टीबाट निष्कासन गरिएको जानकारी आयोगमा गराएको हो। यससँगै कांग्रेसमा आधिकारिक नेतृत्व को हुने भन्ने विषयमा कानुनी तथा राजनीतिक लडाइँ हुने संकेत देखिएको छ।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूको नेतृत्वमा विशेष महाधिवेशन सञ्चालन भइरहेको र सोही महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र निर्वाचन आयोगमा बुझाइसकेका थिए।

दुवै पक्षबाट आयोगमा फरक–फरक दाबी प्रस्तुत भइसकेकाले अब निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिक मान्ने भन्ने विषय कांग्रेसको भविष्यका लागि निर्णायक बन्ने देखिएको छ।

प्रतिक्रिया