
देउवा गगन–विश्वसँग वार्ताका लागि तयार
काठमाडौं – चौतर्फी दबाबपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आजै छलफल गर्न तयार भएका छन्। देउवा निवास महाराजगञ्जमा सोमबार आफूनिकट केन्द्रीय सदस्यहरूसँग भएको छलफलले पार्टी विभाजन रोक्न सभापतिले नै पहल लिनुपर्ने निष्कर्ष निकालेपछि वार्ताको बाटो खुलेको हो।
छलफलका क्रममा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई प्रत्यक्ष संवादको नेतृत्व लिन आग्रह गरेका थिए। यसक्रममा देउवाले ‘बोलाउँदा पनि महामन्त्री नआए के गर्ने ?’ भन्दै चासो राखे पनि कुनै पनि हालतमा विशेष महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने दबाबपछि उनी वार्ताका लागि तयार भएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
छलफलपछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीहरूसँग वार्ता गर्ने तयारी गरेको जानकारी दिएका छन्। उनका अनुसार सहमति र सौहार्दपूर्ण वातावरण बनेमा सभापति देउवा स्वयं वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको समापन समारोहमा सहभागी हुने समझदारी पनि बनेको छ।
देउवा निवासमा भएको आन्तरिक छलफलले महामन्त्रीद्वयसँग संवाद गर्ने जिम्मेवारी सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई औपचारिक रूपमा दिएको छ। नेताहरूका अनुसार पार्टी विभाजन कसैको पनि चाहना नभएकाले संवादमार्फत समाधान खोज्नेमा दुवै पक्ष सहमत देखिएका छन्।
उता, गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयनसम्बन्धी कार्यविधि पारित गरेपछि राजनीतिक तनाव थप चर्किएको छ। उक्त कार्यविधिमा नियमित महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति चयन गर्ने व्यवस्था गरिएपछि विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा र शेखर कोइराला समूह सक्रिय भएका हुन्।
विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वयले पेस गरेको प्रतिवेदनमाथि प्रतिनिधिहरूको धारणा राख्ने क्रम जारी रहेकाले सोमबार सकिने भनिएको महाधिवेशन मंगलबारसम्म लम्बिएको छ।



कागजपत्र |
