देउवालाई कोइरालाको सुझाव- ‘पार्टी फुटतिर छ, जोगाउनुस्’


काठमाडौं –  नेपाली कांग्रेसमा पार्टी विभाजनको खतरा बढ्दै गएको भन्दै नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई तत्काल मिलाएर अघि बढ्न सुझाव दिएका छन्। सोमबार महाराजगञ्जस्थित देउवा निवास पुगेका कोइरालाले पार्टी फुटबाट जोगाउन र असन्तुष्ट नेताहरूमाथि कारबाही नगर्न आग्रह गरेका हुन्।

सोही दिन देउवाले आफ्ना निकट केन्द्रीय सदस्यहरूको बैठक दिउँसो ३ बजेका लागि बोलाएका थिए। बैठक सुरु हुनुअघि कोइराला, उपसभापति बद्री पाण्डे, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका थिए। करिब ४५ मिनेटको छलफलमा कोइरालाले पार्टी गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन्।

‘पार्टी फुटतिर जाँदैछ, यसलाई जोगाउने जिम्मेवारी सभापतिको हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गगन-विश्वप्रकाशहरूलाई बाटो बन्द गर्ने होइन, मिलाएर लैजाने लचकता देखाउनुपर्छ ।’

बैठकमा कोइरालाले विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेलगायतका नेताहरूलाई पार्टीको मूलधारमा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि नेतामाथि कारबाही नगर्न र संवादमार्फत मिलाउने उपाय खोज्न आग्रह गरेका छन्।

उक्त भेटमा सभापति देउवाले आफू पनि पार्टी फुट्न नदिने पक्षमा रहेको र समस्या समाधानका लागि लचक रहन तयार रहेको बताएका छन्। देउवानिकट स्रोतका अनुसार उनले आजै कारबाही गर्ने मनस्थिति राखेका छैनन् र मध्यमार्गी बाटो अपनाएर पार्टीमा सहमतिको वातावरण बनाउन सकारात्मक रहेको आश्वासन कोइराला टोलीलाई दिएका छन्।

 

प्रतिक्रिया