
उज्यालो नेपालसँग एकता टुटेपछि रास्वपाले बुझायो संशोधित समानुपातिक सूची
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अद्यावधिक (संशोधित) बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
आइतबार बिहान पार्टीका प्रतिनिधिहरू निर्वाचन आयोगको कार्यालय पुगेर संशोधित सूची औपचारिक रूपमा दर्ता गराएका हुन् ।
यसअघि रास्वपाले आयोगले तोकेको समयसीमाभित्रै ११० जना समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाइसकेको थियो । तर, उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुङ्गिएपछि र केही उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएपछि सूची परिमार्जन गर्नुपरेको रास्वपाले जनाएको छ ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता समझदारीअनुसार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भएको थियो । सोही सहमतिअनुसार घिसिङको सिफारिसमा १८ जना उम्मेदवारहरू रास्वपाको समानुपातिक बन्दसूचीमा समेटिएका थिए ।
तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै दुई पार्टीबीचको एकता प्रक्रिया भङ्ग भयो । रास्वपाका नेताहरूले घिसिङले उपसभापतिसहित अत्यधिक पदको माग गरेपछि एकता कायम रहन नसकेको दाबी गरेका छन् ।
उता, कुलमान घिसिङले भने रास्वपाले एकपक्षीय रूपमा एकता तोडेको आरोप लगाउँदै उज्यालो नेपाल पार्टीको अध्यक्षका रूपमा पुनः नेतृत्व सम्हालेका छन् ।
एकता टुटेपछि रास्वपाले उज्यालो नेपाल पार्टीको कोटाबाट समावेश गरिएका उम्मेदवारहरूको नाम हटाउँदै संशोधित समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको हो ।



कागजपत्र |
