
जाजरकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु
जाजरकोट- जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। छेडागाड नगरपालिका–८ अन्तर्गत घोगीदेखि थलह जाँदै गरेको जिप नाउरीघाट भन्ने स्थानमा दुर्घटनामा परेको हो।
स्थानीयवासी तथा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्कबहादुर बुढाका अनुसार दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाग्रस्त जिपमा चालकसहित पाँच जना यात्रु सवार थिए। मृतक दुई जनाबाहेक अन्य दुई जना यात्रु र चालक घाइते भएको बुढाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। उनले दुर्घटनामा दुई जनाको मृत्यु र केही घाइते भएको पुष्टि भए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।



कागजपत्र |
