पूर्व विद्यार्थीसँग लिभिङ टुगेदरपछि अश्लील फोटो–भिडिओको धम्की दिएर ११ लाख असुली


काठमाडौं- आफ्नै पूर्व विद्यार्थी तथा सहकर्मीसँगको निजी तथा अन्तरङ्ग भिडिओ–तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै लाखौँ रुपैयाँ असुली गरेको अभियोगमा एक पूर्व प्राध्यापकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–१८ निवासी ४५ वर्षीय अवनिन्द्र चक्रवर्तीविरुद्ध विद्युतीय कारोबार तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो।

अभियोगअनुसार पीडित  हाल संयुक्त राष्ट्रसङ्घ (यूएन) अन्तर्गत अफ्रिकी मुलुकमा स्वास्थ्य विशेषज्ञका रूपमा कार्यरत छिन्। सन् २०१४ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययन गर्ने क्रममा चक्रवर्ती उनका प्रोफेसर तथा सुपरभाइजर थिए।

सरकारी वकिल कार्यालयका अनुसार सन् २०१६ देखि २०२० सम्म उनीहरूबीच निकट सम्बन्ध रहेको र सो अवधिमा लिभिङ टुगेदरमा समेत बसेको खुलेको छ।

तर, बयानका क्रममा चक्रवर्तीले भने आफूहरूबीच बारम्बार लेनदेन हुने गरेको दाबी गरेका छन्। उनले बयानमा भनेका छन्,
“उनले विवाह गर्ने हो भने मैले पहिलाकी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने भनिन्। सोही अनुसार मैले सम्बन्ध विच्छेद गरी विवाह प्रस्ताव राख्दा उनले अस्वीकार गरिन्। त्यसपछि मसँग सम्पर्क तोडिन्, फेसबुक र इन्स्टाग्रामसमेत ब्लक गरिन्। त्यसैले आफूले दिएको रकम फिर्ता लिन इमेलमार्फत पैसा मागेको हुँ।”

तर उनले थप बयानमा आफूहरूको अन्तरङ्ग भिडिओ भएको हार्डडिस्क चोरी भएको नाटक रचना गरी विभिन्न नक्कली नाम प्रयोग गरेर आफैंले डर, त्रास र धम्कीपूर्ण सन्देशहरू पठाएको स्वीकार गरेका छन्।

अभियोग पत्रअनुसार चक्रवर्तीले फेक इमेलमार्फत रूपालाई अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिन थाले। “तेरो बाबुलाई फोटो पठाइदिन्छु”, “यूएनमा इमेल गरेर जागिर खाइदिन्छु”, “सामाजिक सञ्जालमा भाइरल बनाइदिन्छु” जस्ता शब्द प्रयोग गर्दै निरन्तर मानसिक तनाव दिएर रकम माग गरेको उल्लेख छ।

इज्जत जाने डर र निरन्तर मानसिक दबाबका कारण पीडितले दुई पटक गरी जम्मा ११ लाख रुपैयाँ चक्रवर्तीलाई बुझाएको अभियोगमा उल्लेख छ। तर रकम बुझाइसकेपछि पनि धम्की नरोकिने देखिएपछि अन्ततः उनले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

सरकारी वकिल कार्यालयले चक्रवर्तीविरुद्ध दुईवटा कसुरमा सजाय माग दाबी गरेको छ। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय, तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ (आपराधिक लाभ) अन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ।

साथै पीडितबाट असुल गरिएको ११ लाख रुपैयाँ बिगो जफत गरी पीडितलाई क्षतिपूर्ति भराउन समेत अदालतसँग माग गरिएको छ।

प्रतिक्रिया