
एनएमबी बैंक झलारी शाखामा तालाबन्दी
कैलाली – कञ्चनपुरको झलारी बजारस्थित एनएमबी बैंक शाखामा जेनजी युवा संघर्ष समितिले तालाबन्दी गरेको छ। तालाबन्दी अजय विकको घरजग्गा दलाल र बैंकसँग मिलेमतोमा लिलाम गरिएको भन्दै गरिएको हो।
शुक्लाफाँटा नगरपालिका–१० का अजय विकले २०७५ साल कात्तिक २० गते आफ्नी धर्मपत्नीको नाममा रहेको घर र जग्गा धितो राखेर २९ लाख ५० हजार ऋण लिएका थिए। कर्जा भुक्तानी अवधि १५ वर्षको तय भएपनि बैंकले विभिन्न समयमा किस्ता नलिएको बताउँदै २०८० मा घर लिलाम गरेको अजयले आरोप लगाए।
जेनजी युवा संघर्ष समितिका अगुवा सिजनबहादुर सिंह का अनुसार, बैंकका कर्मचारी र धिरेन्द्र साउँदसँग मिलेमतो गरी अजयको घर लिलामी गरिएको हुँदा उनीहरूले तालाबन्दी गरेको हो। उनीहरूले भने, “पीडित न्याय नपाएसम्म तालाबन्दी र संघर्ष जारी रहनेछ।”
यसअघि वडाध्यक्ष लालबहादुर ऐर ले बैंकले झुक्याएर घर बाटो सिफारिस गरेको भन्दै उक्त सिफारिस रद्द गर्न पत्र लेखेको बताए। तर एनएमबी बैंक झलारी शाखाका प्रमुख दीपक कार्की ले घर लिलामी प्रक्रियागत रूपमा गरिएको दाबी गर्दै, ऋणीले कानुनी प्रक्रिया अपनाएर समस्या समाधान गर्नुपर्ने बताएका छन्।
अजय विकका अनुसार, बैंकले १५ दिने सूचना निकालेपछि तीन लाख नगद र एक लाखको चेक लिएर पनि लिलामी नगरी समाधान गर्न अस्वीकार गरेको छ। यसप्रति परिवारले आपत्ति जनाएको छ।
यो घटनाले बैंकिङ्ग प्रणाली र घरधनीको अधिकारबीचको संवेदनशीलतालाई पुनः प्रकाशमा ल्याएको छ।



कागजपत्र |
