
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
काठमाडाैं- निर्वाचन आयोगले नमूना मतपत्रको छपाइ अन्तिम चरणमा पुर्याएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको मतदाता शिक्षाका लागि १० लाख थान नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो ।
आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ शुरू गरेको हो। आजसम्ममा नमूना मतपत्र छापेर भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्ने तयारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ ।
माघ ९ गतेसम्ममा समानुपातिकतर्फको मतपत्र छापिसकेर माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गर्ने योजना रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फको मतदानका लागि २ करोड थान मतपत्र छापिने छ । यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् । कुल मतदाताको ५ देखि १० प्रतिशत सङ्ख्यामा बढाएर मतपत्र छापिनेछ ।
मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।



कागजपत्र |
