विभाजनको कगारमा नेपाली कांग्रेस : विशेष महाधिवेशन र संस्थापन समूहबीच टकराव


काठमाडौं- देशकै ठूलो राजनीतिक दल नेपाली कांग्रेस अहिले विभाजनको कगारमा पुगेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षले नयाँ रणनीति अघि सारेको छ।

संस्थापन पक्षले बिहीबार सभापति शेरबहादुर देउवासँगको छलफलपछि केन्द्रीय सदस्यहरूको भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा बोलाएको छ। बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको २५ सदस्यीय समूह सहभागी हुने जनाइएको छ।

विशेष महाधिवेशनको तयारी पनि तीव्र छ। महामन्त्रीद्वयले हस्ताक्षर गरेर विशेष महाधिवेशनको औपचारिक तयारी पूरा गरेका छन्। यसका लागि १८ वटा उपसमितिहरू गठन भइसकेका छन्। यदि विशेष महाधिवेशनमा बहुमत जुट्यो भने नयाँ कार्यसमिति पनि घोषणा हुन सक्छ।

विशेष महाधिवेशनको तयारी भृकुटीमण्डपस्थित कार्यालयको समन्वयमा भइरहेको छ। व्यवस्थापन समितिका अनुसार करिब एक हजार स्वयंसेवकले व्यवस्थापनमा सहयोग गर्नेछन्। प्रतिनिधि तथा कार्यकर्ताहरू जिल्ला-जिल्लाबाट काठमाडौं आउन थालेका छन्। होटल, आवास र खानाको व्यवस्थापन पनि समितिहरूले जिम्मा लिएका छन्।

उता संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने निर्णय गरेको छ। पुस २७ गते ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय, बीपीनगरमा “आमनिर्वाचन, १५ औँ महाधिवेशन र युवाको भूमिका” भन्ने मूल नारासहित युवा भेला आयोजना गरिनेछ। उक्त भेलाको संयोजन नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङले गर्नेछन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षीय भेला बीचको यो प्रतिस्पर्धाले पार्टीभित्रको गुटबन्दी अझ स्पष्ट बनाएको छ। आगामी पुस २७ र २८ गतेका गतिविधिले दलको आन्तरिक समन्वय र आगामी प्रतिनिधि सभा निर्वाचन तयारीमा ठुलो प्रभाव पार्ने बताइएकाे छ।

प्रतिक्रिया