
डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
डडेल्धुरा– डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन्। अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको घटनाको विरोधमा विकास समितिले यस्तो निर्णय गरेको हो।
अस्पताल विकास समितिले बुधबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओझा बिरामी तथा सेवाग्राहीको सेवामा अहोरात्र खटिरहेको अवस्थामा अस्पताल जस्तो संवेदनशील संस्थाभित्र प्रमाणविहीन र तथ्यविहीन आरोप लगाउँदै गरिएको दुर्व्यवहार अत्यन्तै निन्दनीय र लज्जाजनक भएको उल्लेख गरेको छ। समितिले उक्त घटनाले अस्पतालको सेवा प्रवाह र कर्मचारीहरूको मनोबलमा गम्भीर नकारात्मक असर पार्ने चेतावनीसमेत दिएको छ।
विकास समितिले घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, भविष्यमा यस्ता अराजक र गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
समितिका अनुसार दोषीलाई कानुनी दायरामा नल्याएसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक अस्पतालका सबै सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सेवा बन्दका कारण सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति समितिले क्षमाप्रार्थीसमेत जनाएको छ।
बुधबार डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराको नेतृत्वमा जनकारबाहीको नाममा मोसो दलिएको थियो। संगठनले अस्पताल सञ्चालन, कर्मचारी भर्ना, उपकरण खरिद तथा सेवा प्रवाहमा भ्रष्टाचार र अनियमितता भएको आरोप लगाउँदै मोसो दलिएको दाबी गरेको छ।
घटनापछि जिल्लामा अस्पतालको सेवा ठप्प हुँदा बिरामी तथा सर्वसाधारण मर्कामा परेका छन्।



कागजपत्र |
