भद्रपुर विमानस्थलमा क्रेन प्रयोग गरेर बुद्ध एयरको एटीआर–७२ हटाइँदै


झापा-  भद्रपुर विमानस्थलको धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको एटीआर–७२ विमान हटाउन आइतबार ५० टन क्षमताको ठूलो क्रेन प्रयोग गरिएको छ। शनिबार साना क्रेनको सहायताले विमान निकाल्ने प्रयास असफल भएपछि विराटनगरबाट ठूलो क्रेन झिकाएर उद्धार कार्य अघि बढाइएको हो।

उद्धारमा संलग्न प्राविधिकहरूका अनुसार विमानलाई क्रेनमार्फत उचालेर धावनमार्गछेउको खोल्सो पार गराई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। विमान पूर्ण रूपमा हटेपछि मात्रै धावनमार्ग सामान्य अवस्थामा सञ्चालनमा ल्याइने बताइएको छ।

भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार पूर्वी धावनमार्गको कुल लम्बाइ १ हजार ५ सय मिटर भए पनि हाल २८ नम्बर विन्दुबाट करिब १ सय मिटर घटाएर मात्रै उडान सञ्चालन भइरहेको छ।

दुर्घटनाग्रस्त विमान धावनमार्गको अन्तिम बिन्दुभन्दा करिब डेढ सय मिटर अगाडि रहेको खोल्सोमा धसिएको थियो। सम्भावित जोखिम न्यूनीकरणका लागि विमानभित्र रहेका सबै ७२ सिट निकालेर चौरमा राखिएको छ भने करिब १ हजार २ सय किलो इन्धन सुरक्षित रूपमा डम्प गरिएको छ।

बुद्ध एयरले शनिबार काठमाडौंबाट १८ जना प्राविधिकसहितको उद्धार टोली अर्को एटीआर विमानमार्फत भद्रपुर पठाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसहितको टोली पनि घटनास्थल पुगेर प्रारम्भिक अवलोकन गरिसकेको छ।

शुक्रबार राति ९ बजेर ६ मिनेटमा काठमाडौं–भद्रपुर उडान पूरा गरी अवतरण गरेको उक्त विमान धावनमार्गबाट चिप्लिँदै चौर पार गरेर खोल्सोमा पुगेको थियो।

घटनाका कारण धावनमार्ग अवरुद्ध हुँदा यति एयरलाइन्सको एटीआर विमान १८ यात्रुसहित भद्रपुरमै रोकिएको थियो। विमानस्थल केही समय पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू प्रभावित भएका थिए।

उक्त उडानका क्याप्टेन शैलेष लिम्बू र को–पाइलट सुसान्त श्रेष्ठलाई नियमानुसार ग्राउन्डेड गरिएको छ। बुद्ध एयरका अनुसार दुवैको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ र आगामी छानबिन समितिले उनीहरूको बयान लिनेछ।

 

प्रतिक्रिया