देउवाले बोलाए निकट नेताहरूको बैठक


काठमाडौं –  नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका छन्।

देउवाले आफ्नो निवास महाराजगञ्जमा छलफल गर्ने गरी वर्तमान तथा पूर्व पदाधिकारीहरूलाई आमन्त्रण गरेका हुन्। देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्र देखिएको विवाद र त्यसको समाधानबारे गम्भीर छलफल हुनेछ।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्ने एक पक्ष र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षबीच विवाद चर्किँदै गएको छ। यही विषयलाई केन्द्रमा राखेर सभापति देउवाले आफ्ना निकट नेताहरूसँग परामर्श गर्न लागेको बुझिएको छ।

यसअघि कांग्रेसको कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ। तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार माग भएको अवस्थामा विशेष महाधिवेशन हुनैपर्ने अडान राख्दै त्यसका लागि तयारी गरिरहेका छन्।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर विशेष महाधिवेशन पक्षधर समूह भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा अडिग देखिएको छ।

 

प्रतिक्रिया