
भारतबाट सात नेपाली बालबालिकाको उद्धार, स्वदेश फिर्तीको तयारी
काठमाडौं- भारतका विभिन्न स्थानबाट जोखिमयुक्त अवस्थामा रहेका सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ।
नेपाली राजदूतावास, भारतीय प्रहरी तथा सामाजिक संस्था केन इन्डियाका निर्देशक नवीन जोशीको समन्वय र अगुवाइमा ती बालबालिकाहरूको उद्धार गरिएको हो।
जोशीका अनुसार भारतको बिहार राज्यका विभिन्न क्षेत्रमा जोखिमपूर्ण अवस्थामा फेला परेका ती बालबालिकालाई उद्धार गरी नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइएको छ। उद्धार गरिएका सबै बालबालिका मधेस प्रदेशका रहेको उनले जानकारी दिए।
‘उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको छ। सबै बालबालिका मधेस प्रदेशकै हुन्। परिवारसँग पुनःमिलन गराउने कार्यक्रम तय गरिएको छ,’ जोशीले भने, ‘आउँदो बुधबार मधेस प्रदेश डीआइजी कार्यालयमा उनीहरूलाई परिवारसँग पुनःमिलन गराइनेछ।’
यसअघि पनि जोशीकै अगुवाइमा केही साता अघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको सफल उद्धार गरिएको थियो।



कागजपत्र |
