
निर्वाचन आयोगले सुरक्षा तयारीबारे जानकारी लियो
काठमाडौं- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायहरूसँग जानकारी लिएको छ। आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षासम्बन्धी तयारीको विस्तृत समीक्षा गरिएको हो।
बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भइरहेका तयारीबारे सबै सुरक्षा निकायले जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनका अनुसार आइतबारको बैठक पूर्ण रूपमा राष्ट्रियसभा निर्वाचनको सुरक्षामा केन्द्रित रहेको थियो।
यसैबीच प्रवक्ता भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरोकारवाला निकाय तथा सुझावका आधारमा निर्वाचन आचारसंहिता स्वीकृत गरिएको जानकारी पनि दिए। आचारसंहिता लागू हुने मिति भने केही दिनभित्र सार्वजनिक गरिने उनले बताए।
उनले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गरी निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे।
स्वीकृत आचारसंहिताअनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने प्रावधान राखिएको छ।
त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दलहरूले तोकिएको खर्च सीमाभित्रै रहेर निर्वाचन अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
आचारसंहितामा दल, उम्मेदवार तथा पार्टीका नेता–कार्यकर्ताले विदेशी नम्बर प्लेट भएका सवारी साधन प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउनेजस्ता व्यवस्था पनि समावेश गरिएको छ।



कागजपत्र |
