
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
कञ्चनपुर- कञ्चनपुरमा बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेसनल पार्क नजिक घाँस–दाउरा लिन गएकी ७० वर्षीया सुना निरौलाको बाघले ज्यान लिएको हो।
पुनर्वास नगरपालिका–६ स्थित आजाद नगर नजिकैको जङ्गलमा भएको घटनामा वृद्धाको शव आइतबार फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
शनिबार घाँस–दाउरा लिन जङ्गल गएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयवासी, प्रहरी र आफन्तले खोजतलास थालेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय खोजीपछि आइतबार शव फेला परेको थियो।
प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ भने स्थानीयलाई सतर्क रहन पनि आग्रह गरेको छ।



कागजपत्र |
