
बालेनको राजीनामा तयारी, काठमाडौंको नेतृत्व सुनिता डंगोलको हातमा जाने
काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा जुटेपछि राजधानी महानगरको नेतृत्वमा परिवर्तन आउने निश्चित भएको छ। बालेनले उम्मेदवारी दिनुअघि मेयर पदबाट राजीनामा दिने भएपछि काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर सुनिता डंगोलको काँधमा आउने भएको हो।
विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलमा बालेनले आफू अब सक्रिय राष्ट्रिय राजनीतिमा होमिन लागेको स्पष्ट पारेका थिए। सोही क्रममा आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको ७ बुँदे सहमतिमा बालेन चुनावपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख गरिएको छ।
कानुनी व्यवस्था अनुसार बहालवाला जनप्रतिनिधि पदमै रहेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन नपाइने भएकाले बालेनले उम्मेदवारी दर्ता गर्नुअघि महानगरको मेयर पदबाट राजीनामा दिनुपर्नेछ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते तोकिएको छ भने उम्मेदवारी मनोनयन माघ ६ गते हुने कार्यतालिका रहेको छ।
बालेनले करिब दुई हप्ताभित्र मेयर पदबाट राजीनामा दिने तयारी गरेको उनका निकटस्थहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकामा उनको कार्यकाल अझै करिब १६ महिना बाँकी छ।
बालेनले राजीनामा दिएको अवस्थामा हालकी उपमेयर सुनिता डंगोल कार्यवाहक मेयर बन्नेछिन्।
आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री बन्ने विषयमा सहमति भएको थियो। सो सहमतिअनुसार माघ ६ गतेभित्र महानगर प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ।



कागजपत्र |
