अबको चुनावमा चौंथो नम्बरमा पुग्ने पालो केपीको : प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका हुन्।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरूको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको उनले बताए। ‘देशैभरि ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ। तपाईं हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो,’ उनले भने।

जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए। यस्तै, कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा सुरू हुने दाबी पनि उनले गरे। मोर्चा बन्यो भने पत्रकार महासंघको चुनावकै जस्तो हुनुपर्ने उनले बताए। अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गरे।

 

प्रतिक्रिया