
सक्रिय हुँदै बालेनः डा. भगवान् कोइरालादेखि सुरजसिं ठकुरीसम्मको भेट, अरु को–को समेटिए ?
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राजनीतिमा सक्रिय हुने संकेत देखाएका छन् ।
बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्याक्तिहरुसँग छलफल गरेका छन् । आफ्नै नेतृत्वमा राजनीतिक दल सक्रिय बनाउने लक्ष्यका साथ उनले सक्रियता बढाएका हुन् ।
पछिल्लो समय उनले राजनीतिकका साथै गैर राजनीतिक व्यक्तित्वहरुसँग छलफल जारी राखेका छन् । उनले यसै क्रममा डा. भगवान् कोइरालादेखि सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतका व्यक्तिहरुसँग भेट गरेको जनाइएको छ ।
बुधबार राति अबेरसम्म चलेको छलफलमा विभिन्न राजनीतिक दलका नेता, पूर्व कर्मचारीदेखि कलाकार र पत्रकारसम्म सहभागी थिए ।
छलफलको क्रममा बालेनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिन्ह लौरो नै प्रयोग गर्ने गरी टिम बनाएर अघि बढ्न लागेको सुनाएका थिए ।
बालेनले डा कोइराला, सञ्चारकर्मी ठकुरीका साथै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियालगायतसँग छलफल गरेको जनाइएको छ ।
उनीहरुसँगको भेटपछि अहिले पनि बालेन अन्य विभिन्न व्यक्तित्वहरुसँगको छलफलमा रहेको जनाइएको छ ।



कागजपत्र |
