राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त


काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो। नियुक्त निर्वाचन अधिकृतहरूमा कोशी प्रदेशमा भीमराज प्रसाई, मधेश प्रदेशमा शुभनाथ पुरी, बागमती प्रदेशमा गीता श्रेष्ठ, गण्डकी प्रदेशमा हिमाल बेल्वासे, लुम्बिनी प्रदेशमा प्रकाशराज पण्डित, कर्णाली प्रदेशमा दीपक ढकाल र सुदूरपश्चिम प्रदेशमा भुवनसिंह थापा रहेका छन्।

आगामी फागुन २० गतेदेखि रिक्त १९ पदका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन नामावलीमाथि दाबी–विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। यस्तै, पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। मतदान सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

प्रतिक्रिया