
सर्वदलीय बैठक सुरू, को-को छन् सहभागी ?
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्न प्रधानमन्त्री कार्कीले आह्वान गरेको बैठक सुरु भएको हो ।
अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतीकरण दिनेछ ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलबाटका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागि रहेका छन् ।
कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन सहभागी भएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहभागी भएका छन् ।
प्रमुख दुई राजनीतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्ने माग राखेको छ ।
सरकारले यसअघि पनि प्रमुख राजनीतिक दल, जेनजी, निर्वाचन आयोगका प्रमुख र सुरक्षा प्रमुखहरुसँग छलफल गर्दै आएको छ ।



कागजपत्र |
