राष्ट्रियसभा निर्वाचन: मधेश प्रदेशमा सबैभन्दा बढी मतभार, कर्णालीमा सबैभन्दा कम


काठमाडौं-  राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतभार निर्धारण गरेको छ। आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतभार छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम मतभार कायम गरिएको छ।

निर्वाचन आयोगले जारी गरेको विवरणअनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार, बागमती प्रदेशमा १० हजार ३५२, कोशी प्रदेशमा १० हजार १३५ र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ। गण्डकी प्रदेशमा ६ हजार ४१०, सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ र कर्णाली प्रदेशमा ५ हजार १२२ मतभार रहेको छ।

यसैगरी राष्ट्रिय सभाका रिक्त १९ पदमध्ये १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएको छ। प्रदेशगत रुपमा मधेशबाट ४, कोशी र लुम्बिनीबाट ३–३, बागमती र गण्डकीबाट २–२, र कर्णाली र सुदूरपश्चिमबाट २–२ सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनका लागि सातै प्रदेशका राजधानी रहेका जिल्लामा मतदानस्थल तोकिएको छ। प्रत्येक प्रदेशमा दुई–दुई मतदान केन्द्र रहनेछन्, जहाँ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले आ–आफ्नो केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया