
दोहोरी साँझमा झगडा गरेको समूहद्वारा पैदल हिँड्ने युवकको हत्या
काठमाडौं – गोंगबुको मिरमिरे दोहोरी साँझमा भएको झडपमा एक युवकको हत्या भएको छ। झडपमा संलग्न दुई समूहमध्ये एकले बाटो हिँडिरहेका पैदल यात्रु बबिन गुरुङमाथि आक्रमण गरेको पुष्टि भएको छ।
सिरानचोक गाउँपालिका–७, गोरखा घर भई टोखा नगरपालिका–९, गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङको मृत्यु भएको हाे। दोहोरी साँझमा झगडा गरेर बाहिर निस्केका हरिशरण पन्तले बबिनमाथि धारिलो हतियार प्रहार गरेका थिए।
काठमाडौं प्रहरीले बुधबार बिहानै पन्तलाई पक्राउ गरेको छ। पन्त धादिङको नेत्रावती–डबजोङका हुन्। प्रहरीले उनका साथसाथै सोही ठाउँका श्रीकृष्ण पन्तलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनामा डडेल्धुराका वीरेन्द्र साउद, दार्चुलाका जनक सिंह र अन्यको समूहबीच झडप भएको थियो। साथै, दोहोरी साँझका सञ्चालकसहित झडपमा संलग्न कुल ६ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
