
युके पठाउने बहानामा ५२ लाख ठगी, एक जना पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाइदिने प्रलोभन देखाएर ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१२ मा बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने आश्वासन दिँदै ५२ लाख रुपैयाँ असुल गरेका थिए। तर लामो समयसम्म विभिन्न बहानामा झुक्क्याएर न युके पठाए, न त रकम फिर्ता गरेपछि उनी सम्पर्कविहीन बनेका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाउँदै बराइलीलाई पक्राउ गरिएको प्रवक्ता आचार्यले जानकारी दिए।
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



कागजपत्र |
