यस्तो बन्याे कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्


काठमाडौं- सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ। शुक्रबार थप चार मन्त्रीले शपथ लिएपछि मन्त्रिपरिषद् १४ सदस्यीय बनेको हो। राष्ट्रपति भवनमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुरमा इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद्का चारजनाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री कार्कीसँग परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको थप जिम्मेवारी छ। यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया