
गौरीफन्टा नाकामा एसएसबीद्वारा नेपाली कुटिएको भन्दै तनाव
कैलाली- कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टा बिहिबार बिहान केहीबेर तनावपूर्ण बनेको थियो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हातपात गरेको आरोप लागेपछि स्थानीयवासी विरोधमा उत्रिए र नाकामा भीड बढेपछि अवस्था तनाबग्रस्त बनेको हो।
एसएसबीले नेपालीनागरिकलाई कुटपिट गरेको भन्दै बिहानैदेखि धेरै नेपालीहरू सीमा क्षेत्रमा जम्मा भएका थिए। यसक्रममा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरले आफूहरूलाई पनि कुटपिट गरिएको गुनासो आएपनि कुटिएका व्यक्तिहरू भने सम्पर्कमा नआएको जानकारी दिएको छ।
स्थानीय बासिन्दाका अनुसार एक महिला र एक युवकमाथि भारतीय एसएसबीले कुटपिट गरेको दाबी गरिएको छ। यता कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले आवतजावतमा कडाइ भएपछि सामान्य विवाद उत्पन्न भएको र त्यसलाई ठूलो घटना जस्तो बनाइएको बताए। उनका अनुसार गुनासो गर्ने नेपाली पक्ष, सशस्त्र प्रहरी र एसएसबीबीच छलफल भइसकेको छ र समस्या समाधान भइसकेको छ।
जेनजी आन्दोलनपछि भारतीय पक्षले भारत प्रवेश गर्ने नेपाली नागरिकमाथि चेकजाँच कडा पारेको छ। नेपालीहरूले सक्कली परिचयपत्र पेस गरेपछि मात्र भारत प्रवेशको अनुमति दिइने प्रथाले सीमा क्षेत्रमा असन्तुष्टि बढेको स्थानीयको भनाइ छ।



कागजपत्र |
