कैलाली– ५ बाट आरजुसहित ४ जनाको नाम सिफारिस


कैलाली- नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ५ ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस प्रक्रिया पूरा गरेको छ। पूर्व परराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ।

क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार आरजुसहित प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको हो।

उम्मेदवार दर्ताको लागि क्षेत्र नम्बर ५ ले आज बिहान १० बजे देखि २ बजेसम्म आह्वान गरेको थियो। इच्छुक उम्मेदवार चार जना मात्रै दर्ता भएपछि सबैको नाम स्वीकृत र सिफारिस गरिएको प्रवक्ता पाठकले बताए।

आरजु राणा देउवा २०७४ सालको निर्वाचनमा सोही क्षेत्र (धनगढी क्षेत्र) बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा पनि उनले सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा थियो, तर उनले समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन्।

समानुपातिक उम्मेदवारका लागि ११ जनाको नाम र राष्ट्रियसभाका लागि तीन जनाको नाम पनि सिफारिस गरिएको छ।

प्रतिक्रिया