भन्सार एजेन्ट आन्दोलित, देशभर भन्सारकाे जाँचपास सेवा ठप्प


काठमाडौं-  देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सम्पूर्ण सेवा ठप्प भएका छन्। भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमै पेन–डाउन आन्दोलन थालेपछि भन्सारका सबै प्रक्रिया बन्द भएका हुन्।

२०८२ मंसिर २१ देखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोध गर्दै महासंघले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो। महासंघका अनुसार नयाँ ऐनले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रिया सहज बनाउनेभन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार कमजोर बनाउने, उद्योग–व्यवसाय र वैध व्यापारलाई समेत हतोत्साहित गर्ने अवस्था उत्पन्न भएको छ।

भन्सार ऐन तयार पार्ने प्रारम्भिक चरणदेखि नै महासंघले दण्ड–जरिवाना, इजाजतपत्र नविकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन–कुट–आउट नोट प्रणाली तथा मालवस्तु जाँचपासलाई इजाजतप्राप्त एजेन्टमै सीमित गर्ने माग राख्दै आएको थियो। तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार विस्तार गरेको आरोप महासंघले लगाएको छ।

महासंघका अनुसार भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, स्वचालन प्रणालीका सर्भर समस्या, राजश्व भुक्तानीका जटिलता तथा क्वारेन्टाइनसम्बन्धी अवरोधबारे पटक–पटक भन्सार विभागलाई ध्यानाकर्षण गराए पनि समाधान नआएकाले आन्दोलनमा उत्रिन बाध्य भएको हो। पेन–डाउन आन्दोलन आइतबार वीरगञ्ज भन्सारबाट सुरु भएको थियो।

दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलबार देशभरका सबै भन्सार कार्यालयका सेवा बन्द गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए।

जाँचपास रोकिँदा मुलुकभर भन्सार राजस्व संकलनमा ठोस असर परेको छ। महासंघका अनुसार, नयाँ ऐनले सिर्जना गरेका समस्या समाधान र पेशासँग सम्बन्धित माग सम्बोधन नभए मंगलबार नै थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी चलिरहेको छ।

प्रतिक्रिया