बिरामी शिशुको विषयमा पत्नीसँग झगडा, पछि त्यहि शिशुको घाँटी रेटेर हत्या


काठमाडौं– नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई आफ्नै ४ महिनाको शिशुको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ। श्रीमान–श्रीमतीबीच उपचार सम्बन्धी विवाद हुँदा उनले आफ्नै छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक बयानमा खुलेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईका अनुसार आइतबार साँझ करिब ६ बजे पक्राउ गरिएका असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। उनकी श्रीमती कृष्णा कुँवर पनि नेपाल प्रहरीकी जवान हुन्।

घटना काठमाडौंको सिनामंगलस्थित डेरामा भएको हो। शिशुको उपचारका विषयमा विवाद बढेपछि कार्कीले श्रीमतीलाई कुटपिट गरे र त्यसपछि चार महिनाका छोरामाथि हमला गरेका थिए।

‘श्रीमतीको टाउकोमा चोट लागेको छ भने शिशुको घाँटी काटिएको छ,’ एसपी भट्टराईले बताए। श्रीमतीलाई कुटपिट र शिशु हत्या गरेपछि कार्की कोठाबाट फरार भएका थिए। पछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घाइते श्रीमती कृष्णा कुँवरलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक  विवरणअनुसार शिशुलाई जन्मजात ब्रेन ट्युमर रहेको र सोही विषयमा दम्पतीबीच विवाद भइरहने गरेको खुलेको छ।

प्रहरीले कार्कीलाई हिरासतमा राखेर गम्भीर अपराधका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया