
निर्धारित मितिमै निर्वाचन गर्न सरकार जुटेको छ : प्रधानमन्त्री कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाे र तयारीमा जुटिरहेको बताएकी छन्। २२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले बिहीबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीका अनुसार आगामी फागुन २१ गते हुने आम निर्वाचनले मुलुकको नेतृत्व युवा पुस्ताको हातमा सुम्पने अवसर दिनेछ। उनले युवाशक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना तथा गाँस–वास–कपासको सुनिश्चितताका माग उठाइरहेको उल्लेख गर्दै ती आकांक्षा पुरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने धारणा राखिन्।
ज्यापु संस्कृति विकास कोषको योगदानप्रति प्रधानमन्त्री कार्कीले प्रशंसा व्यक्त गर्दै राज्यबाट प्राप्त सीमित सहयोगबाट सुरु भएको संस्थाले दुई दशकमा हासिल गरेको प्रगतिलाई उल्लेखनीय बताइन्।
कार्यक्रममा मौलिक संस्कृति संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, यस अवसरमा परम्परागत सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएका थिए।



कागजपत्र |
